काठमाण्डु – नेकपा एमालेकी सांसद शान्ता चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रधानमन्त्री देउवालाई व्यंग्य गर्दै दलाल पुँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा नरहेको बताइन् ।
‘दलाल पुँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा छैन । आलीसान महलमा तिम्रो बास छ । गरीबको सपना खोस । गरीबको गाँस खोस । भूमीहीनको सपनामाथि आगो झोस,’ उनले भनिन्, ‘शिशाको महलबाट भोको पेट लिएर सडकमा छट्पटिएकाहरुलाई ढुंगा हान, संसदलाई लात हान, गठबन्धनप्रति जवाफदेही बन । संविधान हामी चिन्दैनौं । संसद हामी जान्दैनौं । हाम्रो एउटा गठबन्धन छ । त्यही गठबन्धनको एउटा उच्चस्तरको संयन्त्र बनेको छ । संसदले भनेको मान्दैनौं । उच्चस्तरको संयन्त्रले भनेको मान्छौं ।’
सांसद चौधरीले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गरेर सुकुम्बासीको समपनामाथि लात हानेको आरोप लगाइन् ।
‘ भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो । विजय गच्छदारलाई धरौटीमा छाडियो। अब मोहम्मद अफताव आलमलाई छोडिन्छ । नियम कानून तोडिन्छ । जनताको बारेमा के मतलव ? कोरोनाको खोप त हुनेखाने खोजेर लगाइन्छ,’ उनले भनिन्, ‘हामी त परमादेशबाट बनेको सरकार पो हो त चानचुने कहाँ हो र । स्याबास सरकार लाज लागे मुकुण्डो किनेर ल्याउँला, अझ यस्तै हर्कत गर्दै जाऊ सरकार ।’




प्रतिक्रिया