प्रतिपक्षलाई शान्ता चौधरीकाे प्रश्नः गरिबको पक्षमा बोल्नै नहुने यस्तो गणतन्त्र किन चाहियो ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले गुठी विद्येयक प्रचार गरिएजस्तो संविधान विपरित नभएको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले प्रस्तावित विधेयकमा मौलिक संस्कृति, पूजाआजा र जात्राविरुद्ध केही विषय उल्लेख नभएको र नकारात्मक ढंगले भइरहेको टिप्पणीप्रति आफू अचम्मित परेको बताइन् ।

गुठी विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको उनको दाबी छ । सांसद चौधरीले काठमाडौं उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताइन् ।

उनले गरीब किसानको पक्षमा बोल्न प्रतिपक्षीलाई सुझाव दिइन् । ‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?,’ उनले प्रश्न गरिन् ।

‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र किन चाहियो ?’ सांसद चौधरीले भावुक हुँदै प्रतिपक्षी दललाई प्रश्न गरिन, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’

प्रतिक्रिया दिनुहोस
Advertisement