झन चुनाैती बन्दै व्यापार घाटा : पूर्वअर्थसचिव शान्तराज सुवेदीको टिप्पणी

झन चुनाैती बन्दै व्यापार घाटा : पूर्वअर्थसचिव शान्तराज सुवेदीको टिप्पणी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शान्तराज सुवेदी

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक बर्ष २०७५/७६ को मुलुकको आर्थिक स्थिति हेर्दा लगातार तीन वर्षदेखि आर्थिक वृद्धिदर ६% भन्दा बढी छ। यो सुखद विषय हो।

तर व्यापार घाटा भने मुलुकको लागि चट्टानी चुनौतीको रुपमा खडा भएको छ। सो आवमा सरकारले १३ खर्ब १५ अर्बको बजेट ल्याएको थियो र खर्च भने १० खर्ब ३१ अर्ब मात्र भएको थियो। तर व्यापार घाटा १३ खर्ब २१ अर्ब भई बजेटको आकारलाई नै पछाडि पाऱ्यो, जसले गर्दा मुलुकको शोधनान्तर स्थिति आव २०६६/६७ पछि पहिलो पटक ६७ अर्ब ४० करोडले ऋणात्मक भएको छ। यसको एक प्रमुख कारण आयातमा अत्यधिक वृद्धि र निर्यात अत्यन्त कम हुनु हो।

एकातिर बस्तु तथा सेवा आयातको लागि विदेशी मुद्रा दिनु पर्ने, अर्को तर्फ मुलुकमा भित्रिने विदेशी मुद्राको घट्दो दरले चालु खाता घाटा अत्यधिक हुन पुग्यो। यस वर्ष पेट्रोलियम पदार्थको आयात मात्र २१३ अर्ब ३६ करोडको भएको छ भने सवारी साधनको आयात ११० अर्ब ३५ करोडको।

कृषि प्रधान मुलुकमा भारतबाट चामल ३२.२२ अर्ब र तरकारी १४.६१ अर्बको आयात भएको भने सुन मात्र ३४.६३ अर्बको आएको छ। तर वर्ष भरीको निर्यात भने ९७.११ अर्ब मात्र छ।

विप्रेषण आय ८७९.२७ अर्ब भएपनि यसको बृद्धिदर घट्दो क्रममा छ। पर्यटक आगमन संख्यात्मक रूपमा बढे पनि धेरै खर्च गर्ने गुणस्तरीय पर्यटकको आगमन अत्यन्त न्यून छ। अर्कोतर्फ नेपालीहरुको विदेश भ्रमणमा बढी खर्च गर्ने प्रवृती र विदेशमा अध्ययन गर्न जाने मोहले विदेशी मुद्रा बहिर्गमन बढाएको छ।

त्यस्तै प्रत्यक्ष बैदेशिक लगानी अघिल्लो आवमा १७ अर्ब ५१ करोड आएकोमा यस वर्ष २५.४ प्रतिशतले घटी १३ अर्ब ७ करोड मात्र भित्रिएको छ। यी सबै कारणले विदेशी मुद्रा सञ्चितिमा ह्रास आई १० खर्ब ३८ अर्बमा सीमित हुन पुगेको छ। यसले अहिलेकै अवस्थामा बैदेशिक व्यापार सञ्चालन भएमा ७.८ महिनाको बस्तु तथा सेवाको आयातलाई धान्न पुग्ने छ, जबकी गत वर्षको सोही अबधीमा ९.४ महिनालाई पुग्थ्यो।

यी सबै परिदृश्य हेर्दा अब आयात प्रतिस्थापन र निर्यात प्रबर्धनमा नीतिगत हस्तक्षेप गर्नु जरुरी छ। इन्धनको विकल्प विद्युतको प्रयोग नै हो। त्यसैले यसमा जोड दिनुका साथै आरामदायी र बिलासी तथा कृषिजन्य बस्तुको आयातमा कडाई गर्नै पर्छ।

त्यस्तै गुणस्तरीय पर्यटक आकर्षण, स्वदेश मै गुणस्तरीय शिक्षाको प्रवर्धन गरी बाहिर पढन जान निरुत्साहन र औद्योगिक तथा पूर्वाधार क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गरी स्वदेश मै रोजगारी सिर्जना गर्न सकेमा मात्र आगामी दिनमा उत्पादन वृद्धि हुनेछ।

यद्यपी शोधनान्तर घाटाको अहिलेको स्थितीबाट आत्तिहाल्नु पर्ने अवस्था छैन। तर यसैगरी निरन्तर घट्दै गएमा भुक्तानी क्षमता घट्ने छ।

विकसित मुलुकहरुमा तीन महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सन्चित भएमा सन्तोषजनक मानिन्छ तर हाम्रो जस्तो व्यापारघाटा रफ्तारमा बढिरहेको मुलुकमा भने छ महिनामा झऱ्यो भने धेरै पटक सोच्न जरुरी छ।

चालु आर्थिक बर्षको पहिलो महिनामा निर्यात २७.७ % ले बढेको छ भने आयात १४% ले घटी सुखद संकेत देखिएको छ। आशा गरौं आव २०७६/७७ मा अर्थतन्त्रका परिसुचकहरु अझ सकारात्मक हुनेछ्न्।

(सुवेदी पूर्वअर्थसचिव हुन्)