देश वैदेशिक रोजगारीको दुष्चक्रमा पर्दैछ : मन्त्री भण्डारी

देश वैदेशिक रोजगारीको दुष्चक्रमा पर्दैछ : मन्त्री भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट आर्जेको सीप, अनुभव र पुँजीलाई प्रभावकारी परिचालन नगरे देश वैदेशिक रोजगारीको दुष्चक्रमा पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दक्षिण कोरिया, स्विजरल्याण्ड जस्ता विकसित मुलुक कुनै समय वैदेशिक रोजगारको भुमरीमा परेको बताउँदै ती देशहरू आर्थिक समृद्धिमा योगदान गर्ने क्रियाकलापमा लगानी नगरेको भए अवस्था फरक हुने तर्क गरे ।

नेपाली युवा विदेश मात्रै गएका छैनन्, फर्केका पनि छन् भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले गत सन् २०२३ र २०२४ मा १५ लाख विदेश गएका र ११ लाख फर्किएका बताए । उनले भने, ‘श्रम स्वीकृति र पुन: श्रम स्वीकृतिलाई फरक तवरले छुट्टै विश्लेषण गर्न आवश्यक छ । चिन्ता नेपाली विदेश गए भनेर होइन, नेपालको अर्थतन्त्र कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ ।’

वैदेशिक रोजगारलाई चुनौतीभन्दा पनि विदेशमा आर्जित पुँजी, सीप र ज्ञानलाई उत्पादनशील क्षेत्रमा लगाउन सकिएमा नेपाल विदेश जाने र अवसर सिर्जना गर्ने मुलुक बन्न सक्ने बताए ।

श्रममन्त्री भण्डारीले नेपाल सरकारले हालै निर्णय गरेको श्रम आप्रवासन नीति २०८२ ले ठगी नियन्त्रण, सूचना प्रणालीमा सुधार र दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको बताए । श्रमिकको सामाजिक सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयमा सरकार सक्रिय रहेको उनले बताए ।

नागरिकलाई सेवा प्रवाहका लागि समन्वय र सहकार्य अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहमा रहेका श्रम तथा रोजगार कार्यालय र रोजगार सेवा केन्द्रको भूमिका बढाउन लागिएको र आन्तरिक रोजगार प्रवर्द्धनका लागि महाशाखा गठन गरिएको उनले जानकारी दिए ।

विदेशमा दु:ख गरेर कमाएको पैसा केवल खानपानमा सकियो भने त्यो दुर्भाग्यपूर्ण हुने बताउँदै उनले वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका नेपालीहरूलाई मातृभूमिको समृद्धिमा योगदान गर्न आह्वान गरेका छन् ।