भक्तपुर – सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने भने पनि व्यवहारमा भने त्यो लागु गर्न नसक्दा अहिले स्थानिय वासिन्दाहरु विरोधमा उत्रिन बाध्य भएका छन् ।
त्यस्तै भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा स्थानियले कडा विरोध गरेका छन् ।
वर्षौदेखि काम हुँदै आए पनि अझै काम नसकेको भन्दै नगरकोट सडकखण्ड रोडका पोलपोलमा माथि जनावरको र तल ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध जनाएका हुन् ।
अधिकारी सैलुङ कन्स्ट्रक्सनका मालिक हुन् । पोलपोलका साथै त्यहाँ चल्ने सवारी साधनहरुमा पनि त्यस्ता फोटोहरु टाँगिएका छन् ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष प्रविण गुरुङले समयमै सडक विस्तार कार्य सकाउन दवाव दिने उद्देश्यका साथ सरकार, राजनीतिक पार्टी मात्रै नभई सर्वसाधारणको पनि ध्यानाकर्षणका लागि यसरी फोटो टाँसिएको बताए ।
‘आर्थिक वर्ष २०७२–०७३ मै सकिनुपर्ने सडक विस्तार योजना अझैसम्म नसकिंदा त्यहाँ पर्यटक चाहेर पनि पुग्न सकेका छैनन् । त्यसकारण त्यहाँ पुग्न चाहने पर्यटकहरुले डाइभर्ट भएर धुलिखेललगायतका ठाउँहरुमा पुगिरहेका छन्’ उनले भने ।
नगरकोटमा रहेका करिब चार दर्जन ठूला तथा साना होटलहरूले मौसममा दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्ने समितिको तथ्यांकमा उल्लेख छ ।
तर सडकको दुरावस्थाले अहिले उक्त कारोबार आधाले कमी आएको समितिले जनाएको छ । नगरकोटका होटलहरुले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्छन् ।






प्रतिक्रिया