काठमाण्डु – हप्ताको पहिलो दिन आईतबार शेयर बजारमा कारोबार रकम ५ महिनायताकै उच्च भएको छ ।
आईतबार कारोबार रकम बढेर १२ अर्ब ९५ करोड पुगेको छ । गत मंगलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएर बजार बन्द भएकोमा २ दिन सरकार बिदा भएपछि आईतबार बजार खुलेको हो । बजार खुलेकै पहिलो दिन उच्च कारोबार भएको छ ।
आईतबार शेयर बजार मापन गर्ने सूचक ६९.८० अंकले बढेर परिसूचक २७२७.५८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक २७२७.५८ विन्दुमा पुग्दा सेन्सेटिभ इण्डेक्स १३.६४ अंक बढेको छ । फ्लोट इण्डेक्स ४.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंकले बढेको छ ।
आईतबारको कारोबारमा २०२ कम्पनीको शेयर मूल्य बढेको छ । ३७ वटा कम्पनीको शेयर मूल्य घट्दा ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आईतबार माइक्रो फाइनान्स सेक्टरको सबैभन्दा धेरै शेयर मूल्य बढेको छ । सेक्टरको शेयर मूल्य ४.९२ प्रतिशत, बैंकिङ सेक्टरको २.५२, विकास बैंक सेक्टरको ३.१५, फाइनान्स सेक्टरको १.२९, होटल तथा पर्यटन सेक्टरको १.८२, हाइड्रोपावर सेक्टरको १.४१, लगानी सेक्टरको ३.३८, जीवन बीमा सेक्टरको २.४३, उत्पादन तथा प्रशोधन सेक्टरको ३.०७, निर्जीवन बीमा सेक्टरको ३.७१, अन्य सेक्टरको २.६३ र व्यापार सेक्टरको १.३१ प्रतिशत शेयर मूल्य बढेको छ ।
आईतबारको कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका थिए । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड ९७ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड र सिन्धु विकास बैंकको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
कारोबारमा ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आईतबार शेयर बजार बन्द हुनुअघि उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।
सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रो पावरको ४.६ प्रतिशत मूल्य घटेको छ ।




प्रतिक्रिया