काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हप्ताको पहिलो कारोबार दिन ३९ दशमलव ९२ अंकले बढेर २६००.२२ बिन्दुमा पुगेको छ ।
धितोपत्र बजारमा आईतबार ३३४ कम्पनीको कुल १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा ८ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आईतबारको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहका उपसूचकमा वृद्धि भएको छ । सागर डिस्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड र झापा इनर्जी लिमिटेडका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आईतबारको कारोबारमा सबैभन्दा बढी मूल्य घटाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ, जसको शेयर मूल्य आईतबार ७.५६ प्रतिशतले घटेको छ ।
कम्पनीअनुसार कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी ६५ करोड ६० लाख ९१ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । शेयर संख्याका आधारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ ।
आईतबारको बजार गतिविधिले लगानीकर्ताबीच उत्साह थपेको र नेप्से परिसूचकले दोहोरो अंकको वृद्धि देखाएको विश्लेषकहरूले बताएका छन् ।




प्रतिक्रिया