काठमाण्डु – पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार झिनो अंकले मात्रै घटेको छ ।
बुधबार नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ । फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ ।
नेप्से करीब स्थिर रहे पनि कारोबार रकममा सामान्य वृद्धि देखिएको छ । मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बुधबार रिडी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ । सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने आँखु खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । सुमर माइ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा पनि रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बाँकी उपसमूहहरूमा झिनो गिरावट देखिएको छ ।




प्रतिक्रिया