लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, नेप्से १० अंकले ओरालो

लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, नेप्से १० अंकले ओरालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। मंगलबार ३९ अंक र बुधबार ४ अंकले घटेको बजार बिहीबार थप १० अंकले ओरालो लाग्दै २७३० विन्दुमा पुगेको हो।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आजको कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

क्षेत्रगत रूपमा व्यापार समूह ०.३२ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेका छन्। अन्य समूह सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ। यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१ तथा निर्जीवन बीमा समूह ०.५१ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९.२२ प्रतिशत र सामुदायिक लघुवित्त २.५० प्रतिशतले उकालो लागेको छ।

यता एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशतले घटेको छ। हिमालयन रिइन्स्योरेन्स ७.१२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ५.९१ प्रतिशत, रिजलाइन इनर्जी ४.७४ प्रतिशत तथा भुजुङ हाइड्रोपावर ४.३४ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी अगाडि रहेका छन्।