काठमाण्डु – शेयर बजारमा आज सोमबार दोहोरो अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक २३.१६ अंकले गिरावट भएर १८५१.४३ को विन्दुमा बन्द भएको छ ।
आज सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट आएको छ ।
बैंकिङ प्रणालीमा तरलता लगातार बढे पनि लगानीकर्ता विश्वस्त नहुँदा बजारमा लगातार गिरावट देखिएको छ । दशैं नजिकिँदै गर्दा नेप्सेसँगै कारोबारमा पनि गिरावट देखिएको छ । गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।
सोमबार नेप्सेमा कूल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।
आज प्रभू बैंकको संस्थापक शेयर सर्वाधिक ६ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ६ करोड २७ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखको कारोबार भएको छ ।
आज नेप्सेमा कूल २३६ सूचीकृत कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २११ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा २२ कम्पनीको शेयर मूल्य बढेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।




प्रतिक्रिया