काठमाण्डु – मंगलबार नेप्से परिसूचक २४.५० अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से, आज बढेर बन्द भएको हो ।
आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.१९, फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार ८ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ९५ हजार ९७ पटकको कारोबारमा ९ अर्ब ४० कराड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । दोल्ती पावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.४३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ३८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.०७ प्रतिशत बढेको छ।




प्रतिक्रिया