अर्थमन्त्रीको ढाढसले पनि थामिएन शेयर बजार : नेप्से एकवर्ष यताकै न्युन विन्दुमा


काठमाडौं – नेप्से परिसूचक सोमबार १२८७ मा आइपुगेको छ । बजार १६.६९ अंकले घटेर यो विन्दुमा आइपुगेको हो । नेप्से एकवर्ष यताकै न्युन विन्दुमा आएको हो । गोरखा पत्रमा सेयर बजारलाई आफुले अनुत्पादक नभनेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई सार्वजनिक भएसंगै सोमबार कारोबार खुलेको केही समय भने बजार बढेको थियो ।
तर, अन्तिमसम्म कायम रहन सकेन । गत वर्षको फागुन ३ गते नेप्से परिसूचक १२ सय ७४ मा रहेकोमा अहिले नेप्से त्यसयताकै न्युन विन्दुमा आएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा सेयर कर्जा प्रति अनुदार देखिएको खबरसंगै गत विहिबार यता बजार उच्चले घटेको मानिएको छ ।

बजार उच्च दरले घट्दा बजारमा अंकित मूल्य (एक सय) मूल्यकै हाराहारीमा २३ संस्थाको सेयर कारोबार भइरहेको छ । सिभिल बैंक, राँधी जलविद्युत्, सिन्धु विकास, कर्णाली विकास, गुडविल फाइनान्स, दिव्यश्वरी हाइड्रो, पोखरा फाइनान्स, सप्तकोशी विकास, कन्काई विकास, खानी खोला हाइड्रोको सेयर मूल्य एक सयदेखि एक सय ५० हाराहारीमा चलिरहेको छ ।

त्यस्तै, यही मूल्य हाराहारी रहनेमा सिनर्जी फाइनान्स, मञ्जुश्री फाइनान्स, रिलायन्स फाइनानस, ज्योति विकास, गोर्खा फाइनान्स, देव विकास, अरुण हाइड्रो, हाम्रो विकास, नेपाल कम्पयुनिटि डेभलपमेन्ट, नेपाल हाइड्रो पनि हुन् । समस्याग्रस्त खुलापछि कारोबारमा आएको बेस्ट फाइनान्स र नेशनल हाइड्रोपावरको सेयर मूल्य पनि एक सय मुनि छ ।

सोमबार शेयर बजार ओरालो लागेपनि कारोबार भने ३९ करोड ५२ लाख रुपैयाँको भयो। आज १ सय ५३ वटा कम्पनीको कारोबार हुँदा २१ वटा कम्पनीका शेयरधनीले कमाएका छन्। तीनवटै सूचक ओरालो लाग्दा व्यापार र होटलका उपसूचक भने उकालो लागेका छन्।व्यापारको उपसूचक ३.५ प्रतिशत र होटल ०.१३ प्रतिशतले उकालो लागेको हो भने सबै भन्दा धेरै माइक्रोफाइनान्सको उपसूचक २.८७ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement