एजेन्सी – जापानका प्रधानमन्त्री योशिहिदे सुगाले पदबाट राजीनामा दिने भएका छन् । एक वर्ष पहिले प्रधानमन्त्रीमा नियुक्त भएका सुगाले आगामी कार्यकालका लागि प्रतिष्पर्धामा नजाने बताएका छन् ।
तत्कालिन प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिएका थिए । आबेको राजीनामापछि सुगा सत्तामा आएका थिए । उनले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका हुन् । प्रधानमन्त्री सुगाले यो महिना हुने पार्टी नेताको चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
जापानमा अहिले आतपकालीन अवस्था लागु छ र कोरोना भाइरसको संक्रमण महामारी यताकै गम्भीर अवस्थामा छ । जापानमा संक्रमितको संख्या १५ लाख भन्दा धेरै पुगेको छ तर खोपदर भने कम देखिएको छ ।
कोरोना भाइरसको संक्रमण बढी रहेका बेला ओलम्पिक गेम्स आयोजना गर्ने निर्णयले उनलाई जापानमा निकै अलोकप्रिय बनाएको थियो ।
सुगाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का महासचिवले भनेका छन्, ‘उहाँले आज भएको कार्यकारी समितिको बैठकमा कोरोना भाइरसविरुद्धका कार्यमा केन्द्रित हुन चाहेको र पार्टी नेताको चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनु भएको छ ।’
सुगाको घोषणाबाट आफूहरु पनि अचम्ममा परेको महासचिवले बताएका छन् । सुगाले प्रधानमन्त्री पद यहि कार्यकालमा छोड्ने संकेत गरेसँगै जापानमा शेयर बजार उच्चदरमा बढेको छ ।
प्रधानमन्त्रीले राजीनामा दिने संकेत गरेपछि सेयर बजारमा दुई दशमलव पाँच प्रतिशतले उछाल आएको छ ।
सुमितोमो मित्सुई ट्रस्ट बैंकका बजार रणनीतिकार अयाको सेराले भने, ‘लगानीकर्ताहरुलाई अहिलेको स्थितिमा सही निर्णय लिन गाह्रो हुन सक्छ । जबकि नेतृत्वको परिवर्तन शेयर बजारका लागी एक सकारात्मक रूपमा लिइन्छ ।’




प्रतिक्रिया