काठमाण्डु – हप्ताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से ३७ अङ्कले घटेको छ ।
कारोबार भएका सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३७ अङ्कले घटेर २६ सय ६१ विन्दुमा झरेको छ । सोमबार जलविद्युत र फाइनान्स समूह क्रमशः ३.१८ र ६.१७ अंकले बढे भने अरु सबै समूह घटेका छन् ।
बैंकिङ समूहको शेयर ३४.८५ अङ्कले, विकास बैंक समूहको ५६.८अङ्कले, व्यापारको एक सय ७ दशमलव ९, होटल तथा पर्यटन समूहको २ सय ४० दशमलव ३ , माइक्रोफाइनान्सको ६२.७ , जीवन बीमाको एक सय २९ दशमलव ७७, निर्जीवन बीमाको दुई सय ३९ दशमलव १३, उत्पादनको ४१.७ र अन्य समूहको शेयर २६.७२ अङ्कले घटेको छ ।
सोमवार २ सय १३ कम्पनीका एक करोड ४२ लाख ७ सय ६ कित्ता शेयर ६ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भए । आज ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
आज चन्द्रागिरि हिल्सको मूल्य साढे ९ प्रतिशतले घटेको छ । प्रतिकित्ता २२९ रुपैयाँ मूल्य घटेर २१८० रुपैयाँ कायम भएको छ । कारोबारका रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो ।
सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ३ प्रतिशतले घटेर ३९९४ रुपैयाँ कायम भएको छ ।
निफ्रा, एनआइसी एसिया लघुवित्त र माथिल्लो तामाकोसी पनि कारोबार रकमका आधारमा अगाडि रहे । तीमध्ये तामाकोसीको मूल्य २ प्रतिशतले बढेको छ भने अरु दुईको सामान्य घटेको छ ।




प्रतिक्रिया