देउवालाई शर्माको सुझाव : तपाईं अब प्रधानमन्त्री नबन्नुस्, गगनलाई बनाउनुस्

देउवालाई शर्माको सुझाव : तपाईं अब प्रधानमन्त्री नबन्नुस्, गगनलाई बनाउनुस्


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाव दिएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित कांग्रेस बागमती प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अब आफू प्रधानमन्त्री नबनेर प्रकाशमान, विमलेन्द्र निधि र डा. शेखर कोइरालामध्ये कसैलाई पालो दिन उनले आग्रह गरे ।

पार्टीका ३ जना नेताले आफूहरू प्रधानमन्त्री नबन्ने भनेको अवस्थामा अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न आग्रह गरे ।

‘अहिलेका हाम्रा आदरणीय सभापतिज्यूलाई मैले यति राम्रो विधिलाई पालना गर्न पाइनँ भन्ने हो भने भन्दिए हुन्छ – ५ चोटी प्रधानमन्त्री भइसकेको छु । कुनै मेडल प्राप्त हुँदैन ६ चोटी प्रधानमन्त्री बन्दा । तिमी अगाडि आउँ, प्रधानमन्त्री त्याग गरेका गणेशमानको छोरा पहिलोचोटी प्रधानमन्त्री बन्ने भए बन प्रकाशमान सिंह, मधेशको बन्छौं भने बन विमलेन्द्र निधि, मेरो प्रतिस्पर्धी बन्छौ भने आउ डा. शेखर कोइराला तिमी बन भनिदिए हुन्छ । केही फरक पर्दैन । मैले नाम लिएका व्यक्तित्वहरूले दृढतापूर्वक उभिएर हामी दाबी गर्दैनौं भन्ने हो भने आउ मसँगै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका गगन थापा तिमी प्रधानमन्त्री बन, देशलाई हाँकेर जाउ भनेर भनिदिए हुन्छ ।’

पार्टीको महासमिति बैठकबाट कांग्रेसबाट दोहोर्‍याएर राष्ट्रपति बन्न नपाउने, २ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नहुने, ३ पटकभन्दा बढी कोही पनि मन्त्री बन्न नहुने र ४ पटकभन्दा बढी कोही सांसद बन्न नहुने र जतिसुकै लोकप्रिय भए पनि ५ पटकभन्दा बढी कसैलाई पनि टिकट दिन नहुने विधि पारित गरिनु आवश्यक रहेको उनले बताए ।