सरकारी विधेयकमा सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माको असहमति

सरकारी विधेयकमा सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माको असहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकको विरोध भइरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका छन् ।

बिहीबार आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने उनले बताए । ‘नेताहरूको आलोचना भयो, नेताहरूलाई व्यंग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनु हुँदैन,’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।’

मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरूले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए । मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्यतथ्य बताउने जिम्मेवारी मिडियाको भएको उनले बताए ।

महामन्त्री शर्माले भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधन भएको प्रसङ्गमा घटनापछि घर फर्किएका नेपाली विद्यार्थीमा अझै त्रास व्याप्त रहेको बताए ।

उनले भने, ‘घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाइमा फर्किन आह्वान गरेको छ तर दोषीमाथि कारबाही हुनुपर्‍यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै त्रासमा छन् । उनीहरूले आफूहरू असुरक्षित भएको बताइरहेका छन् ।’

प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्न सक्ने संयन्त्र बनाउन उनले सरकारलाई सुझाव दिए ।