संसद् पुन:स्थापनाको सम्भावना छैन, चुनावको तयारीमा लाग्नुहोस् : उपसभापति शर्मा

संसद् पुन:स्थापनाको सम्भावना छैन, चुनावको तयारीमा लाग्नुहोस् : उपसभापति शर्मा


काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने चुनावका लागि पूर्णशक्तिका साथ मैदानमा उत्रिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर २ द्वारा सोमबार बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विघटित संसद् पुन:स्थापना हुने सम्भावना नरहेकाले चुनावी तयारीमा लाग्न आग्रह गरेका हुन् ।

अदालती प्रक्रिया लामो हुने भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्दै उपसभापति शर्माले फागुन १ गतेदेखि २१ गतेसम्म आफ्नो निर्वाचन क्षेत्र नछाडी उम्मेदवारहरूको पक्षमा मत माग्न कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीले यसपटक १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको जानकारी दिँदै विशेष महाधिवेशनमार्फत नेतृत्वमा युवाहरूलाई निर्वाचित गरेर कांग्रेस अब नवीन पार्टी बनेको बताए ।

पार्टीको नेतृत्व बदलिएसँगै अब देशको मुहार बदल्ने अभियानमा कांग्रेस होमिएको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा शर्माले जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने सामर्थ्य नेपाली कांग्रेसमा मात्र रहेको दाबी गरे । आन्दोलनपछि जनतामा टुटेको विश्वासलाई पुन: जोड्ने तागत कांग्रेससँग रहेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी पूर्ण रूपमा एकढिक्का भएको बताए । पार्टी बदलेर अब देश बदल्ने संकल्पका साथ आफूहरू अघि बढेको उनले बताएका छन् ।