धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुदे निर्देशन

धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुदे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  अर्थमन्त्री जनार्दन शर्माले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई पुंजीबजार सुधारका आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

बिहिबार बोर्डका अध्यक्ष रमेश हमाल र सिइओ कृष्णबहादुर कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुंजी बजारका सुधाकार लागि दुवै निकायलाई विभिन्न ११ बुंदे निर्देशन दिएका हुन् ।

मन्त्री शर्माले खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयां नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए । उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुंजीबजारबाट आउने बातावरण सृजना गर्न समेत निर्देशन दिए । पुंजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नय नेतृत्व छनौट गरेको उनको भनाई थियो ।

अर्थमन्त्री शर्माले पूंजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने बातावरण सृजना गर्नुपर्ने समेत बताए । ‘जनतामा भएको पैसा पूंजीबजारमा त आयो । अब यो पैसालाई पूंजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने बिषयमा तपाईहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने , ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुंजी बजारको आवश्यकता हो ।’

शर्माले पूंजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे । ‘पुंजी बजारमा राजनीति गर्नु हुंदैन । यसलाई स्वचालित ढङ्गले चल्न दिनुपर्छ । फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुंदैन ।’ मन्त्री शर्माले भने ।

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुंजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिए ।

साना लगानीकर्ताको पुंजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने र ब्रोकरको क्षमता बढाउने काम तत्काल गर्नुपर्नेमा मन्त्री शर्माको जोड थियो ।

अर्थमन्त्री जनादर्न शर्माले दिएका मुख्य ११ निर्देशनहरू
१) कोभीड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।
२) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।
३) २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।
४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।
५) सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।
६) अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ बर्ष भयो ।
८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।
९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा ट्रेडेट फाण्डको शुरुवात गर्ने ।
१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने ।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने । पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।