काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई बीपी कोइरालाको समयको जस्तै शक्तिशाली बनाउन आफूलाई सभापति बन्नुपर्ने अवस्था आएको बताएका छन्।
धनुषाको जनकपुरमा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले आउँदो १५औं महाधिवेशनमा सहयोगको अपेक्षा गरेका छन्। ‘यदि सहयोग मिल्यो भने कार्यकर्ता र नेताले खोजेको कांग्रेस बनाएरै छाड्छु,’ कोइरालाले भने।
उनले आफ्नो राजनीति लोभ–लालसाका कारण नभएको स्पष्ट पार्दै भने ‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु। त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ। म लाखौँ कमाउने मान्छे हुँ, तर त्यो सब छोडेर राजनीतिमा आएको हुँ। मलाई कुनै व्यक्तिगत स्वार्थ छैन। म नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हुँ।’
बीपी कोइराला र कृष्णप्रसाद कोइरालाको संघर्ष स्मरण गर्दै उनले थपे ‘बीपी १४ वर्ष जेलमा बस्नुभयो। कृष्णप्रसाद कोइरालाको हजारौँ बिघा जग्गा थियो, तर उहाँ जेलमै प्राण दिन तयार हुनुभयो। मलाई पनि कुनै अपुग छैन, तर नेपाल र नेपालीका लागि त्यस्तै बलिदान दिन तयार छु।’




प्रतिक्रिया