काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।
उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । उनले भने, ‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु ।’
शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका रास्वपाका नेता पोखरेल काठमाण्डु क्षेत्र–५ बाट निर्वाचित सांसद छन् ।
सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका मन्त्री पोखरेल मुलुकको शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी शिक्षामा प्रविधिको उच्चतम् अभ्यास अवलम्बन गरी स्वदेशमै गुणस्तरीय र रोजगारमुखी, व्यावहारिक शिक्षाको सुनिश्चितताका लागि प्रयत्नशील हुन्छ ।
मन्त्री पोखरेलले यसअघि काठमाण्डु महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहका सल्लाहकारका रूपमा काम गरेका थिए । रास्वपाको महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।




प्रतिक्रिया