काठमाण्डु – प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीमाथि छानबिन गर्न समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा परेको उजुरीको छानबिन गर्न एआइजी राईको नेतृत्वमा समिति गठन भएको हो।
छानबिन निर्देशनालयमा ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेकोलगायत विषयमा उजुरी परेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गरेर मन्त्रिपरिषद् बैठकले सिआइबीमा एआइजी ज्ञवालीको सरुवा गरेको थियो ।
ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।




प्रतिक्रिया