गलत कामविरुद्ध विद्रोह जरुरी छ : डा. कोइराला

गलत कामविरुद्ध विद्रोह जरुरी छ : डा. कोइराला


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कामविरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् ।

कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताए ।

कृष्णप्रसाद कोइरालालाई स्मरण गर्दै उनले भने, ‘कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शम्शेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो । त्यो असहमति वा विद्रोहको नमूना थियो । पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो । त्यसैले म भन्छु गलत गरिरहेका छौं भने असहमति र विद्रोह जरुरी छ ।’

२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल स्वरूप विद्रोह भएको उल्लेख गर्दै डा. कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घरघरमा पुर्‍याउन जरुरी रहेको बताए ।

उनले भने, ‘संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन । संघीयता वा संविधानले दिएको अधिकार जनताको घरघरमा पुर्‍याउनुपर्छ भनेको हो । सुशासन कायम गर्नुपर्छ भनेको हो तर नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ । जवाफदेयी कोही छैन, पारदर्शी छैन । लोकतन्त्र गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन । गणतन्त्रलाई राम्रो बनाउन चाहिँ सक्नुपर्छ ।’

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०८०’ प्रदान गरिएको थियो ।