एमालेसँगको गठबन्धन तत्काल तोड्नुपर्छ : डा. कोइराला

एमालेसँगको गठबन्धन तत्काल तोड्नुपर्छ : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता गठबन्धन तत्काल तोड्नुपर्ने बताएका छन् ।

नवलपुरको डन्डामा नेपाल थारु संघ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनले मुलुकलाई ‘एमालेकरण’तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए ।

डा. कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर अघि बढ्नु लोकतान्त्रिक प्रक्रिया नभएको स्पष्ट पारेका छन् ।

माओवादी केन्द्र, मधेशवादी दलहरू, राप्रपा, रास्वपा लगायत सबै दलहरूको सहमति विना संविधानमा परिवर्तन गर्नु लोकतन्त्रको आत्मविपरीत हुने उनले बताए । सरकारले संसद्लाई छल्दै सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याउने तयारी गरेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे ।

बारम्बार अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति असंवैधानिक र अधिनायकवादी सोचको उपज भएको उनले बताए । केन्द्र सरकारले प्रदेश सरकारहरूमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै उनले निजामती, शिक्षा र प्रहरी सम्बन्धी कानूनहरू संघीयताको मर्मविपरीत निर्माण भइरहेकोमा गम्भीर असन्तोष व्यक्त गरेका छन् ।

‘सत्ताका लागि जे पनि गर्न तयार, सिद्धान्तविहीन गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक छ,’ उनले भने ।