काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक रहेको बताएका छन् ।
आईतबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत संशोधन हाल्नु दोहोरो चरित्र भएको टिप्पणी गरे ।
उनले लेखेका छन्, ‘नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
उनले गठबन्धनमा रहेको दल एमालेबाट कांग्रेसले धारणा माग्नुपर्ने माग गरे । उनले लेखे, ‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ, साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्विविधामा नपरे हुन्छ ।’




प्रतिक्रिया