डा. शेखर कोइरालाको टिप्पणी : जेनजी आन्दोलनमाथि भएको गोली प्रहार निरंकुश क्रूर कदम

डा. शेखर कोइरालाको टिप्पणी : जेनजी आन्दोलनमाथि भएको गोली प्रहार निरंकुश क्रूर कदम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जी आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहारलाई सभ्य समाजमा कल्पना गर्नै नसकिने निरंकुश क्रूर कदम भएको टिप्पणी गरेका छन् ।

जेन–जी आन्दोलनमा सहभागी भई हातमा किताब–कापी बोकेर उज्ज्वल भविष्यको परिकल्पनामा डुबेका कलिला युवामाथि सरकारले बर्बर ढंगले गोली चलाएको भन्दै उनले गहिरो दु:ख व्यक्त गरेका छन् ।

‘घटनाले मलाई मर्माहत बनाएको छ । श्रद्धाञ्जलिका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले आन्दोलनकारी युवाका मागलाई समयसापेक्ष र जायज बताउँदै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अधिनायकवादी प्रवृत्ति भएको टिप्पणी गरेका छन् । ‘आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरु के होला ?’ उनले प्रश्न गरे ।

डा. कोइरालाले देशबाट भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिँदै वर्तमान सरकारले जनतामाथि गोली चलाएर आफ्नो औचित्य गुमाइसकेको दाबी गरेका छन् । उनले आन्दोलनकारी र अभिभावकहरूसँग आफू निरन्तर एकताबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।

‘तपाईं हामी मिलेर देशका हरेक समस्याको विधिसम्मत समाधान खोजौं’ भन्दै उनले जेन–जी आन्दोलनलाई समर्थन जनाएका छन् ।