कांग्रेसमा विन–विन भावना विकास गर्न सके आन्तरिक एकता हुन्छ : डा. कोइराला

कांग्रेसमा विन–विन भावना विकास गर्न सके आन्तरिक एकता हुन्छ : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विन–विन भावना विकास गर्न सके मात्र आन्तरिक एकता सम्भव हुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत धारणा राख्दै उनले आपसी अविश्वास र संकुचित राजनीतिक विवेकले पार्टीभित्रको एकता कमजोर बनाएको बताए ।

डा. कोइरालाले भने, ‘निर्णय प्रक्रिया न्यायमा आधारित हुनुपर्छ । न्याय स्थापित गरेर मात्र एकता सम्भव छ । कांग्रेसमा विन–विन अर्थात् सबैको हित हुने भावना विकास गर्न सके पार्टीभित्रको विभेद, छोपछाप र विरोधाभास समाप्त हुनेछ ।’

पार्टीका नेताहरूबीचको आपसी अविश्वास र सत्ताको लोभले संगठन कमजोर बनाएको भन्दै उनले विचार र नीतिमा आधारित एकता कायम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राजनीतिक विवेक मात्र होइन, सामाजिक विवेक पनि जरुरी रहेको बताउँदै कांग्रेसमा अहिले समयसँगै रूपान्तरण आवश्यक छ ।

डा. कोइरालाले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्ने बताए । ‘राष्ट्रिय चुनावका लागि जनतामा नयाँ विश्वास जगाउने काम कांग्रेसको हो,’ उनले भने, ‘हामीले नयाँ पुस्ता, ऊर्जा र अनुभवलाई सँगै लिएर अघि बढ्नुपर्छ ।’

उनले संविधान र लोकतन्त्रको संरक्षण कांग्रेसको मूल दायित्व भएको स्मरण गराउँदै भने, ‘लोकतान्त्रिक मूल्य र आचरणमा कांग्रेसको पहिचान निहित छ । यही सिद्धान्तमा फर्किन सके मात्र जनताको विश्वास पुन: प्राप्त गर्न सकिन्छ ।’

उनले आन्तरिक अनुशासन, संगठन सुदृढीकरण र समसामयिक परिवर्तनलाई स्वीकार गर्दै कांग्रेसलाई राष्ट्रको दिशा र भविष्यको आशाका रूपमा अघि बढाउन सबै तहका कार्यकर्तालाई आव्हान गरे ।

डा. कोइरालाले भने, ‘हामीले समयसापेक्ष परिवर्तनको बाटो समात्नैपर्छ । यही बाटोबाट कांग्रेसले मुलुकको संकट समाधान गर्ने क्षमता देखाउन सक्छ ।’