विराटनगर – मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले पार्टीभित्रको चरम विवादबिच आफूले सुझबुझपूर्ण ढंगले शान्त र सौम्य पक्ष रोजेको बताएका छन् ।
पार्टी विभाजनको संघारमा पुगेका बेला आफूले लिएको बिचको बाटोले नै कांग्रेसलाई एकढिक्का राख्न मद्दत पुगेको उनको दाबी छ ।
विशेष महाधिवेशन र आधिकारिकताको विवाद पार्टीका महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रस्ट पार्दै डा. कोइरालाले भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी औपचारिक रूपमै विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर नै मैले मध्यमार्गी भूमिका निर्वाह गरेको हुँ ।’ उनले अब महाधिवेशनको प्रसंग सकिएको बताउँदै आफू र नेत्री डा. डिला संग्रौला लगायतका नेताहरू अहिले निर्वाचनको दौडमा एकै ठाउँमा रहेको उल्लेख गरे ।
संसद्मा सुशासनको लडाइँ ‘जेनजी आन्दोलन’ अघिसम्म सांसदका रूपमा आफूले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै कोइरालाले आफू सधैं भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा उभिँदै आएको बताए । ‘सांसद रहँदा नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने काममा मेरो ध्यान केन्द्रित रह्यो । संसद्भित्र र बाहिर मैले सधैं विधिको शासनका लागि लडाइँ लडेको छु,’ उनले भने ।
निर्वाचन नै निकासको बाटो अहिलेको अन्योल चिर्न निर्वाचन नै मुलुकका लागि स्पष्ट निकास भएको उनको तर्क छ । मोरङ क्षेत्र नम्बर ६ का मतदाताको शिर राष्ट्रिय राजनीतिमा कहिल्यै झुक्न नदिएको दाबी गर्दै कोइरालाले अब पुराना मनमुटाव बिर्सेर कांग्रेसलाई जिताउन एकढिक्का भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
बैठकमा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको कारबाही र विवादले चुनावी नतिजामा पर्न सक्ने असरबारे चिन्ता व्यक्त गरेका थिए, जसलाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई जोडेर लैजानु नै अहिलेको उत्तम विकल्प रहेको दोहोर्याए ।




प्रतिक्रिया