काठमाण्डु – नेपाली कांग्रेको संस्थापन इतर समूहले बिहीबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा दशैं, तिहार, छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्यो ।
नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू उपस्थित चियापान कार्यक्रममा दशैको शुभकामना आदानप्रदान भन्दा पनि टिकटको चर्चा बढी भएको थियो ।
चियापानमा उपस्थित प्रायः सबैले संस्थापन पक्षले आफूहरूलाई पेलेरै समानुपातिक बन्दसूची तयार गरेको र प्रत्यक्षतर्फ पनि टिकट खोस्न खोजेको भन्दै गुनासो पोखेका थिए ।
नेता कोइराला र थापाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका आफ्ना गुटका नेतालाई टिकट दिलाएरै छाड्ने आश्वासन दिएका थिए । तर टिकट माग्ने नेता–कार्यकर्ताले घेरिएपछि उनीहरु औपचारिक सम्बोधनबिनै कार्यक्रमबाट बाहिरिए ।
कार्यकर्ताले घेरिएपछि उनीहरुले ‘त्यही नाम नपरेर तपाईं–हामी सबै यहाँ भेला भएका छौं । नत्र त आफ्नै पार्टीमा न्यायका लागि लड्नै पर्दैन थियो नि,’ भन्न भ्याए । नेताहरूले नेतृत्वसँग आफूहरूका मागबारे छलफल भइरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोजेका छन् ।
कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको, गरिएकाहरूको नाम पनि निर्वाचित हुने गरी समावेश नगरिएको र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा आफ्नो समूहका नेताहरूको मात्रै नाम राखेको आरोप लगाउँदै आएको छ ।




प्रतिक्रिया