१०० सिट नपाए कांग्रेसभित्र विद्रोह गर्ने डा. कोइरालाको चेतावनी

१०० सिट नपाए कांग्रेसभित्र विद्रोह गर्ने डा. कोइरालाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट आफूहरूले पाउनु पर्ने बताएका छन ।  बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने बताएका हुन् । सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।

डा. कोइरालाले यदि १०० सिट नपाए कांग्रेसभित्र विद्रोह हुने पनि चेतावनी दिएका छन् ।  ‘बहुमत बनाउन कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? अन्य दलहरु १०० सिट दिने पक्षमा हुनुहुन्न,’ उनले भने, ‘विद्रोह हुन सक्छ नेपाली कांग्रेसभित्र । यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं ।’

पछिल्लो समय सत्ता पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सहमति जुटाउन सकस परेको छ । सत्ता गठबन्धन दलहरूले आ-आफ्नो अडान कायमै राखेका छन् ।  नेपाली कांग्रेसले सबै भन्दा बढि सिटमा दावी गरेको भन्दै नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ ।

यता,नेपाली कांग्रेसका नेताहरु १०० सिट भन्दा तल नझर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने ८० सिट कांग्रेसलाई दिएमा सहमत हुने देखिएका छन ।