काठमाण्डु – नेपाली कांग्रेसको सभापति पदमा पराजित भएको डा. शेखर कोइरालाले चुनावमा अपवित्र गठजोड भएको बताएका छन् । काठमाण्डुमा जारी पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा पराजित भएका कोइरालाले चुनावमा आफू विरुद्ध अपवित्र गठजोड भएको बताएका हुन् । शुक्रबार उनले एक विज्ञप्ति जारी गर्दै आफू सभापति पदमा हारे पनि राजनीति भने जितेको दाबी गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदाही, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीति सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको साथ थियो । पार्टीमा यथास्थिति चाहाने सबैबो अपवित्र गठजोड पनि हामी विरुद्ध भयो । तर पनि हामीले लड्यौँ र राजनीति जित्यौँ ।’
त्यसैगरी उनले पार्टी सभापतिमा पराजित भए पनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत बताएका छन् । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं’, विज्ञप्तिमा भनिएको छ ।
उनले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’ उनले पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख गरेका छन् ।
‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध’, उनले भनेका छन्, ‘पार्टीको १४ औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो ।’




प्रतिक्रिया