नेकपाको राजनीतिक विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखदः शेखर कोइराला


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रयिताबारे प्रश्न उठाएका छन् । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सक्रिय रहेकी राष्ट्रपति भण्डारीले पदको गरिमालाई बिर्सिएको आरोप डा. कोइरालाको छ ।

‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिक विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो’, उनले भनेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरबाट नेता कोइरालाले राष्ट्रपति सामान्य व्यक्ति नभएको बताउँदै संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्न आग्रह गरेका छन् ।

‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ’, नेता कोइरालाले भनेका छन् ।

नेकपाभित्रको विवाद समाधानका लागि राष्ट्रपति भण्डारीले सक्रियता देखाउँदै आएकी छन् । उनले नेताहरुलाई मिलेर अगाडि बढ्न आग्रह गरेकी छन् । नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्पन्न विवाद समाधानका लागि राष्ट्रपतिले नेताहरुसँगको छलफललाई तिव्रता दिएपछि नेता कोइरालाको भनाई बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement