काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइरा पक्षको बैठकले सरकार भ्रष्टाचारका गतिविधिमा मुछिएको आरोप लगाएको छ । आइतबार काठमाण्डुको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले सरकार भ्रष्टाचारका गतिविधिमा मुछिएको निष्कर्ष निकालेको हो ।
आज बसेको उक्त समूहको बैठकले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ । पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रिय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले बताए ।
त्यस्तै कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ ।यस्तै कोइराला पक्षधरले केन्द्रीय सदस्यहरूले भातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।
आजको बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । स्थानीय तहको निर्वाचनदेखि कोइरा पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको छ । कोइराला पक्षले सभापति देउवा पार्टीको विधान विपरित हिडेको आरोपसमेत लाएको छ । यसअघि पनि कोइराला समूहले दुई दिन आन्तरिक छलफल गरेको गरेको थियो ।




प्रतिक्रिया