शेखर कोइरालाको प्रश्न : दुई वटा पासपोर्ट प्रकरणमा गृहमन्त्री र संसदका महासचिवलाई कानुन लाग्दैन ?


बिराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई वटा पासपोर्ट भएको प्रकरणमा उउप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई कानुन लाग्दैन भन्ने प्रश्न गरेका छन् ।

विराटनगरमा बिहिबार पत्रकारहरूसँग नेता डा. कोइरालाले देशको कानुन कि गृहमन्त्री लामिछाने र संसद्को महासचिवलाई नलाग्ने हो भन्दै प्रश्न गरे । ‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र संसदका महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईंहरू केही लेखिरहनुभएको छैन,’ कोइरालाले भने, ‘देशमा कानुन छ। तर उहाँहरूलाई केही हुँदैन। त्यो कानुन के गृहमन्त्रीलाई र संसद महासचिवलाई लाग्दैन ?’

उनले उपप्रधान तथा गृहमन्त्री लामिछाने र संघीय संसदका महासचिव पाण्डेयको दुइटा पासपोर्ट रहेको विषयका कसैले आवाज नउठाएको पनि बताए।

उनले गृहमन्त्री लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोपसमेत लागेको बताए।

‘गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने ? यो हुन सक्दैन,’ उनले भने, ‘सहकारी ठगीमा उहाँ संलग्न हुनुहुन्छ र उहाँ उन्मुक्ति पाउन सक्नुहुन्न भन्ने कांग्रेसको ठहर छ। जसले बचाउन खोज्छ त्यो पार्टी वा व्यक्ति हो त्यो उजागर भएर जान्छ, यो गम्भीर विषय छ।’

उनले गृहमन्त्री लामिछानेले आफू सहकारीमा संलग्न नरहेको बताइरहेको उल्लेख गर्दै भने, ‘त्यसो भए गृह मन्त्रालय छाडेर अर्को मन्त्रालयमा जानुस् न केही समय। प्रहरीलाई अनुसन्धान गर्न दिनुस्। हामीले तपाईंको राजीनामा पनि मागेको छैन।’

 

प्रतिक्रिया दिनुहोस
Advertisement