काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर भदौ १८ गते स्वदेश फर्किनेछन् भने डा. कोइराला भदौ २० गते चीन प्रस्थान गर्नेछन् ।
चीनको शान्सी प्रान्तस्थित सियानमा रहेको शान्सी विश्वविद्यालयको राजनीतिशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन डा. कोइराला चीन जान लागेका हुन् । नेता डा. कोइरालाले आफू चीन जान लागेको पुष्टि गरे ।
विश्वविद्यालयले आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ सम्बन्धी कार्यक्रममा डा. कोइराला सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले चिनियाँ नेताहरूसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।
नेपाली कांग्रेसको भावी नेतृत्वको दौडमा रहेका कोइरालालाई चीनले विश्वविद्यालयको कार्यक्रममा निमन्त्रणा पठाएको हो । यसअघि पनि चीनले उनलाई विभिन्न कार्यक्रममा सहभागी गराउन खोजे पनि कोइरालाले सहभागिता जनाउन पाएका थिएनन् ।




प्रतिक्रिया