गोरखा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताएका छन् ।
नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाइँ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।’
विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनको भनाइ थियो । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको भन्दै चर्को आलोचनासमेत गरे ।
आफ्नो कार्यकाल सकिँनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उहाँले बताए ।
‘१४औँ महाधिवेशनको मुखमा विभागहरु गठन गरेर केही काम गर्ने समय नै बाँकी रहँदैन’, उनले भने, ‘समयमा विभाग गठन गर्न सकेको भए त्यसले पार्टी हित हुन्थ्यो ।’
केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापतिले महाधिवेशन सकिएको दुई महिनाभित्रमा गर्नुपर्ने काम आफ्नो कार्यकाल सकिनै लाग्दा गरेको भन्दै त्यस्तो कार्यशैलीले कहिल्यै पार्टी बन्न नसक्ने उल्लेख गरे । उनले पार्टीभित्रका विवादलाई हल गरेर अघि बढ्न सकेमात्र काँग्रेसलाई सृदृढ पार्टीका रुपमा निर्माण गर्न सकिने भन्दै व्यक्तिगत फाइदाका लागि पार्टी हित विपरीत कसैले काम गर्न नहुने बताए ।




प्रतिक्रिया