काठमाण्डु— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।
४३औं बीपी स्मृति दिवसमा बोल्दै नेता कोइरालाले राज्य व्यवस्था समितिबाट पारित भएभन्दा फरक प्रावधान सहितको व्यवस्था प्रतिनिधि सभाबाट पारित हुनु आपत्तीजनक भएको बताएका हुन् ।
भूमि विधेयकलाई संसदबाट पारित गर्न एमालेले हतार गरेको भन्दै उनले भने ‘किन आजको भोलि नै पास गर्नुपर्ने ? समितिमा छलफल गर्न किन डराइरहनु भएको छ । त्यसको जवाफ कांग्रेसलाई चाहिन्छ’, कोइरालाले भने । ‘गल्ति हाम्रो पनि छ । म भन्दिन मेरो पनि गल्ति छैन । राज्य व्यवस्था समितिका साथीहरुको गल्ति छ’राज्य व्यवस्था समितिका सभापतिको गल्ति छ । हस्ताक्षर गर्ने अनि हेर्न चाहिं नहेर्ने ? ’ उनले भने ।
विधेयक संशोधन गर्ने नाममा राष्ट्रिय सभामा एमालेका सांसदले गरेको प्रस्तावले कांग्रेसको कोर भ्यालु माथि प्रहार गरेको उनले बताए ।
संवैधानिक परिषद् विधेयक बारे बोल्दै उनले प्रधानमन्त्री र एक सदस्यले संवैधानिक परिषदको बैठक बसेर जे पनि गर्नसक्ने उल्लेख गरे ।
यस्तै उनले सभापति शेर बहादुर देउवाले विद्युत सम्बन्धि टेक एण्ड पेमा लिएको अडान जस्तै कुलिङ पिरियडमा पनि देखिनुपर्ने बताए । ‘हामीहरूले बोल्यौं कुलिङ पिरियडमा? अहिले पनि सभापतिजीले प्रधानमन्त्रीलाई राखेर भन्नुपर्छ- यो स्वीकार्य हुन्न फटाफट गर्नुस् भनेर,’ उनले भने ।




प्रतिक्रिया