काठमाण्डु – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको सरुवा रोकिएको छ ।
जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको स्राेतले जानकारी दियाे । राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।
यस्तै उनले स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए । प्रधानमन्त्री कार्यालयबाट निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन् ।
राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले निर्णय कार्यान्वयनमा रोक लगाएका हुन् । अघिल्लो सरकारले जेठ १० गते गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाएर केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत मा नियुक्त गरेको थियो । गौतमविरुद्ध उपकरण खरिदमा अनियमितता गरेको आरोप लगाउँदै वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
प्रतिक्रिया