प्रधानमन्त्री देउवालाई तनावः न मन्त्री न सचिवालय

प्रधानमन्त्री देउवालाई तनावः न मन्त्री न सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको बताइएको छ ।  असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन भन्दै गठबन्धनका विभिन्न तहका नेताहरू छलफलमा जुटिरहे पनि अझै सरकारले पूर्णता कहिले पाउँछ भन्ने निश्चित भएको छैन । सरकारले मात्रै होइन प्रधानमन्त्री देउवाले आफ्नै सचिवालयलाई पनि पूर्णता दिन सकेका छैनन् ।

हालसम्म औपचारीक रुपमा भानु देउवा मात्र स्वकिय सचिव नियुक्त भएका छन् । भानु एक्लैलाई सारा सचिवालय धान्न हम्मेहम्मे परेको छ । पाइलैपिच्छे सहयोग लिनुपर्ने निजी सचिवालय रित्तै जस्तै छ ।

मिडियामा समन्वय नै भएन

प्रधानमन्त्रीका दैनिक कार्यक्रम, भेटघाटलाई निकै अर्थपूर्ण मानिन्छ तर, प्रधानमन्त्रीको दैनिक कार्यसूची पाउन मिडियालाई नै हप्मेहम्मे परेको छ । आधिकारीक रुपमा सचिवालयमा भानु देउवामात्रै भएकाले उनिसंग टेलिफोनमा पनि सहज रुपमा कुरा गर्न नसकिएको सञ्चारकर्मीहरु बताउँछन् ।

प्रधानमन्त्री देउवासँग मिडियाको पहुँच टाढा नै छ । तर, सचिवालयमा सञ्चार गर्ने जिम्मेवारी नदिँदा झनै असहज भएको छ । अहिले अनौपचारीक रुपमा गोविन्द परियारले प्रधानमन्त्रीको सञ्चारमा सहजीकरण गर्ने जिम्मेवारी पाएका छन् ।

मन्त्रिपरिषद विस्तारपछि मात्रै सचिवालय

प्रधानमन्त्री देउवाले सचिवालय भन्दा मन्त्रिपरिषद विस्तारलाई पहिलो प्राथमिकता दिएका छन् । प्रधानमन्त्री नियुक्त भएको ८५ दिन पुग्दासमेत देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको भनि आलोचना भइरहेको छ । आफ्नै दलभित्रबाट समेत मन्त्रिपरिषद विस्तार गर्न देउवालाई दवाव छ ।

गठबन्धनमा रहेका दलहरुबीच साझा सहमति हुन नसक्दा देउवालाई मन्त्रिपरिषद विस्तारमा हम्मेहम्मे परेको छ । पहिला मन्त्रिपरिषदलाई पूर्णता दिएपछि मात्र निजी सचिवालय विस्तार गर्ने योजनामा रहेको प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाले बताए ।

उनले भने, ‘पहिलो प्राथमिकता मन्त्रिपरिषद हो त्यपछि बल्ल सचिवालय टुङ्याउने योजनामा प्रधानमन्त्री हुनुहुन्छ । सम्भवत आजै मन्त्रिपरिषदले पूर्णता पाउँछ होला त्यसपछि १,२ दिनभित्रमा सचिवालयले पूर्णता पाउँछ ।’

जानकारहरुका अनुसार प्रधानमन्त्रीको निजी सचिवालय निकै महत्वपूर्ण भएकाले व्यक्ति छनौटमा निकै ध्यान दिनुपर्ने चुनौती देउवा सामू छ । तर, सचिवालय विस्तारमा प्रथम महिला देउवा पत्नि आरजु राणाले हस्तक्षेप गर्ने गरेको आरोप लागेको छ । हालका स्वकिय सचिव भानु देउवालाई पनि सचिवालयमा ल्याउन नदिन आरजुले निकै जोडबल गरेको स्रोतले जनाएको छ । आरजुकै अडानका कारण देउवालाले राजनीतिक रुपमा कमजोर बन्नुपरेको एकाथरीको विश्लेषण छ ।

अवको एक–दुई दिनभित्र प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्रीकोे निजी सचिवालयका काममा ‘प्रधानमन्त्रीसमक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने’ भनिएको छ । त्यस्तै मन्त्री, पदाधिकारी, कूटनीतिक तथा विभिन्न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने लगायतका विषय छन् । अहिले सचिवालयको सबै काम देउवाका स्वकीय सचिव भानु देउवाले हेर्दै आएका छन् । अव एक दुइदिनमा सचिवालयले पूर्णता पाउने बालुवाटार श्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले गर्नुपर्ने काम के ?

–प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने,

–सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार गर्ने ।

–प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय गर्ने ।

–प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृष्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय गर्ने ।

–प्रधानमन्त्री समक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने।

–प्रधानमन्त्री समक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापनपत्र, फाइल लगायतका कागजातहरू पेस गर्ने र सोको अभिलेख राख्ने ।

– प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनको लागि सम्बन्धित महाशखामार्फत मन्त्रालयहरूमा पठाउने ।

–प्रधानमन्त्रीको तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य गर्ने।

–प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्न बैठकको समन्वय र सहजीकरण गर्ने ।

–नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।

–प्रधानमन्त्रीको निजी सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने ।