केपी ओली राष्ट्रवादी होइनन्, भारतले ओलीसँग सल्लाह गरेर नक्सा छाप्योः शेरबहादुर देउवा

केपी ओली राष्ट्रवादी होइनन्, भारतले ओलीसँग सल्लाह गरेर नक्सा छाप्योः शेरबहादुर देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् ।

पोखरामा शनिबार भएको चुनावी सभामा बोल्दै सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताएका छन् ।

‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ । ओली राष्ट्रवादी पनि होइनन् ।’

‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो । ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो । सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ । महाकालीको पानी पनि आधा हक लाग्छ ।’

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह गरेका छन् ।

‘यो महत्वको चुनाव हो। यसले सरकार बनाउने त होइन । सरकार अलोकप्रिय भइराखेको छ भनेर देश र अन्तर्राष्ट्रिय जगतमा मेसेज दिने हो,’ उनले भने, ‘सरकार अलोकप्रिय भइसक्यो भनेर उपनिर्वाचनबाट देखाउनुपर्छ । उपनिर्वाचन सरकारको पक्षमा जनमत छैन भन्ने देखाउने ऐना हो ।’

सरकारले उपभोक्ता समितिका नाममा लुटतन्त्र मच्चाएको उनले बताएका छन् । ‘उपभोक्ता समितिका नाममा लुटतन्त्र भएको छ । भ्रष्ट्राचार र कर बढाएको छ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई जिताए सरकारविरूद्ध मेसेज जान्छ । जवाफ हुन्छ ।‘

खेमराज पौडेललाई पहिलोपटक पार्टीले न्याय गरेको बताएका देउवाले मत दिएर जिताउँदै न्याय दिन माग गरे । ‘पार्टीले पौडेलजीलाई न्याय ग‍र्यो । अब न्याय गर्ने पालो जनताको हो,’ उनले भने, ‘पार्टीका साथीहरूले अहोरात्र खटिएर जिताउनुपर्नेछ ।’