काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने बताएका छन् ।
जलवायु सम्मेलनमा भाग लिएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दलहरुबीच सहमति गरेर एमसीसी पारित गर्ने बताएका छन् । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको बताए ।
प्रधानमन्त्री देउवाले एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुसँगको भेटमा एमसीसी पास गर्ने भएकाले नआत्तिन आग्रह गरेको बताए ।
उनले भने, ‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छाैं, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु ।’
साथै उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् ।यस्तै मोदीले पनि आफूलाई भारत भ्रमणको निम्तो दिएको प्रधानमन्त्री देउवाले बताए ।
‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ, नेपालमा आउनुस् भनेँ,’ उनले भने, ‘उहाँ आउन तयार छु भन्नु भएको छ । उहाँ नेपाल भ्रमणमा आउने मितिको चाहिँ कुरा भएको छैन ।’
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा प्रकरणबारे तत्काल केही प्रतिक्रिया नदिने बताए । उनले भने, ‘म अहिले बाहिरबाट आएको छु, आन्तरिक विषयमा बोल्दिनँ ।’
प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए ।




प्रतिक्रिया