काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने सम्भावना बढेको छ । नेताहरु प्रकाशमानसिंह र विमलेन्द्र निधिको समर्थन पाएका देउवा पुनः सभापतिमा दोहोरिने निश्चित प्रायः छ ।
सोमबार भएको मतदानमा देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दिउँसो पुनः मतदान हुँदैछ । मतदान अगाडि नै भोट भाग्दै नेताहरुको घरघरमा पुगेका देउवाले सिंह र निधिको समर्थन पाएका हुन् । पहिलो चरणमा देउवाले २२५८ र शेखर कोइलालो १७०२ मत पाएका थिए । सभापतिमा निर्वाचन जित्नका लागि देउवालाई ८३ मत आवश्यक थियो । तर, ८३ मत ल्याउन नसक्दा पुन निर्वाचन हुन लागेको हो ।
सभापतिका प्रत्यासी प्रकाशमान सिंहको ३७१ र विमलेन्द्र निधिको २५० मत आएको थियो । अब दुवै नेताको ६२१ मत देउवाको पक्षमा जाने भएको छ ।
देउवालाई किन समर्थन ?
सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेका नेता सिंहले विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि आफूले समर्थन गरेको जानकारी दिएका छन् ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिए ।
‘हामीबीचको छलफलमा उहाँ (देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भने, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’
साथै नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पनि सभापति देउवालाई समर्थन गर्ने भएका छन् ।
मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ । निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले भने ।
नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति देउवालाई समर्थन गर्ने भएका छन् ।
सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।
‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ । त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।
उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए । देउवालाई सभापतिमा जित्न मात्र ८३ मत आवश्यक छ ।
उपप्रधानमन्त्री बनाउने देउवाको बचन
सभापतिमा ३७१ मत ल्याएका प्रकाशमानलाई प्रधानमन्त्री समेत रहेका सभापति देउवाले उपप्रधानमन्त्री बनाउने सहमति भएको खुलेको छ ।
सभापतिमा आफूलाई समर्थन गरेको खण्डमा उपप्रधानमन्त्री बनाउने लिखित सहमति भएको स्रोतले जानकारी दियो । साथै भेटवार्ताका क्रममा सभापति देउवाले नेता सिंह पक्षलाई उपप्रधानमन्त्रीसहित राजनीतिक नियुक्ती गराउने प्रतिबद्धता गरेपछि उनी राजी भएका हुन् ।
पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो ।




प्रतिक्रिया