कांग्रेसमा देउवा बलियो : दोस्रो कार्यकालमा चुनौतीको ‘चाङ’

कांग्रेसमा देउवा बलियो : दोस्रो कार्यकालमा चुनौतीको ‘चाङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिमा देउवा शक्तिसालि देखिएका छन् ।

मंसिर २४ गते सुरु भएको महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । सभापति चयनका लागि मंसिर २८ मा भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

महाधिवेशनबाट सहमहामन्त्रीमा क्रमशः किशोरसिंह राठौंर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय, जीवन परियार, बद्री पाण्डे, उमाकान्त चौधरी र भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । महाधिवेशनले पदाधिकारी बाहेक १ सय २१ जना केन्द्रीय सदस्यपनि निर्वाचनबाटै चयन गरेको छ । मतगणनाको परिणामअनुसार केन्द्रीय समितिमा सभापति देउवा पक्षको दुई तिहाई बढी वर्चस्व कायम भएको छ । १३ जना पदाधिकारीमध्ये देउवासहित ८ जना संस्थापन पक्षका छन् ।

कोइराला पक्षबाट ४ जना पदाधिकारी निर्वाचित भएका छन् भने प्रकाशमान सिंह पक्षबाट १ जना पदाधिकारी निर्वाचित भएका छन् । केन्द्रीय सदस्यतर्फ डा.शशाकं कोइराला, राजेन्द्रकुमार केसी (राजन) र मुक्ताकुमारी यादव एकभन्दा बढी प्यानलबाट निर्वाचित भए । यी तीनबाहेक १ सय २१ केन्द्रीय सदस्यमध्ये देउवा प्यानलबाट १ सय १ जना निर्वाचित भएका छन् ।

कोइराला प्यानलबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । यसरी देउवा पार्टीमा बलियो देखिएका छन् । पदाधिकारीमा केही प्रभावशाली युवा नेताहरू आएकाले ती नेताको व्यवस्थापन देउवाका लागि चुनौती बन्न सक्छ, तर सिंगो कार्यसमितिमा भने देउवाले जे चाह्यो, त्यही निर्णय हुने सुविधाजनक अवस्था तयार भएको छ ।

देउवाका अगाडी चुनौतीको चाङ

१४ औं महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएका देउवालाई यो कार्यकाल भने त्यती सहज छैन । सभापतिपछि कार्यकारी मानिएको महामन्त्री पदमा दुवै जना इतर समुहका युवा नेता निर्वाचित भएका छन् । देउवालाई सबैभन्दा पहिला त आफ्नै छवी सुधार गर्नुपर्ने चुनौती छ ।

देउवाबाट परिवर्तन हुँदैन भन्ने जुन आमधारणा छ, त्यसलाई चिर्दै गलत सावित गर्नु उनका लागि सबैभन्दा ठूलो चुनौती हो। पार्टीभित्र विधि र आन्तरिक लोकतन्त्रलाई स्थापित गर्ने, एकताको सन्देश प्रवाह गर्ने र महाधिवेशनमा बुलन्द बनेको रूपान्तरणको आवाजलाई सम्बोधन गर्ने दायित्व उनीमाथि छ । देउवाले पहिलो कार्यकालको लामो समयसम्म पार्टीका विभाग गठन गर्न सकेनन् ।

कांग्रेसका ३० वटा भ्रातृ संघ तथा शुभेच्छुक संस्था छन् । वर्षौंदेखि निष्क्रिय भएका भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाउने र विभागहरूलाई समयमै पूर्णता दिएर सिंगो पार्टी जीवनलाई चलायमान बनाउनुपर्ने अर्को चुनौती देउवासामु खडा भएको छ ।

देउवाका लागि अर्को चुनौती पार्टी एकतालाई मजबुत गर्दै आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई जिताउनु हुनेछ । अवको चुनावमा सहकार्य होइन, कांग्रेस एक्लै चुनावमा जाने आवाज ठूलो छ । देउवासामु चुनावसम्म गठबन्धन कायम राख्ने चुनौती हुनेछ ।