काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीमा एक्लै बहुमत ल्याउन गाह्रो रहेको बताएका छन् ।
निर्वाचनमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो निर्वाचनमा भन्दा बढी सिट जित्नुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभाका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले पार्टीका नेताहरूबीच देखिएको मतभेदलाई अन्त्य गरेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन सक्छ । धेरै काम गर्न सकिन्छ । तर, संविधान अनुसार सहज छैन । त्यसैले हामी एकताबद्ध भएर लाग्नुपर्छ । अहिले पनि हामी ठूलो पार्टी छौँ’, देउवाले भने ।
देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले ६÷६ महिनामा सरकार बदलिने अवस्था आएकाले अहिलेको सत्ता समीकरण बनेको पनि बताए । उनले अहिलेको सत्ता सहकार्यलाई एकताबद्ध बनाएर जानुपर्ने जोड दिए ।
पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताउँदै उनले भने, ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुनसक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ ।’




प्रतिक्रिया