काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
त्यसअघि विहान पार्टीका नेता शेखर कोइरालालाई भेटेका देउवा लगत्तै राष्ट्रपति निवास शीतल निवास गएका हुन् । देउवा र राष्ट्रपति पौडेलबीचको भेट पार्टीको आन्तरिक विषय छलफल भएको छ ।
विशेष महाधिवेशन आह्वानका कारण कांग्रेस दुई कित्तामा उभिइरहेको बेलामा देउवाले राष्ट्रपति पौडेललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तर राष्ट्रपति पौडेल र देउवाबीचको विषय खुलेको छैन ।
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशन पक्षधरले आइतवार र सोमबार विशेष महाधिवेशनको आह्वान गरेका छन् । महामन्त्रीद्वय शर्मा र थापा विशेष महाधिवेशनको अडानबाट पछि नहटेपछि देउवा निकै संकटमा देखिएका छन् ।
राष्ट्रपतिसँग भेट्नुअघि देउवाले नेता कोइरालासँग छलफल गरेका थिए । देउवा निवास महाराजगन्जमा पुगेर कोइरालाले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा दुबै नेताबीच विशेष महाधिवेशनको सन्दर्भमा कुराकानी भएको छ । संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा छन् । कोइरालाले सभापति देउवासँग विशेष महाधिवेशन कमजोर बनाउने रणनीतिका बारेमा छलफल गरेको बताइएको छ ।
‘विशेष महाधिवेशनलाई कसरी रोक्न र कमजोर बनाउने भन्ने रणनीति तय गर्न सभापति देउवा र कोइरालाबीच छलफल भएको एक नेताले बताए ।




प्रतिक्रिया