काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी नेता भएको दाबी गरेका छन् ।
सोमबार मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा महिला समानताको संवैधानिक तथा कानूनी व्यवस्था र समावेशितको वर्तमान अवस्था’ विषयक भर्चुअल छलफलमा भाग लिँदै सभापति देउवाले महिलाहरुको विकासका लागि आफूले धेरै काम गरेको बताए ।
उनले महिलाको हकअधिकारको रक्षाका लागि महिला आयोग, दलित आयोग, जनजाति प्रतिष्ठान गठन गरेको बताए ।
सभापति देउवाले कांग्रेसमा मात्रै सबैलाई आरक्षण दिएको दाबी गरे । उनले आफ्नो पार्टीले जनसंख्याको आधारमा आरक्षण दिएको र अन्य पार्टीले आरक्षण नदिएको बताए ।
देउवाले महिलाहरुलाई भोट तान्ने काम गर्न पनि आग्रह गरेका थिए । उनले ३३ प्रतिशत महिला भोटर कांग्रेसले ल्याउनुपर्ने बताए ।
‘भोटर महिला ल्याउनुपर्यो । महिला संघले बढी से बढी महिला भोटर बढाउनुपर्यो । गाउँका सबै महिलाको भोट आउनुपर्यो नि’, उनले भने ।
सभापति देउवाले बढी भोटर ल्याउन सके महिला प्रधानमन्त्री र पार्टी सभापति बन्ने दाबी गरेका छन् ।
‘महिलाले महिला भोटर ल्याउँ, दलितले दलित, जानजातिले जानजाति, थारुले थारु, मुस्लिमले मुस्लिम भोटर बढाऔं । प्राइमिनिस्टर बन्नु सक्नुहुन्छ भोलि, त्यो काम पहिले गर्नुस् न’, उनले भने, ‘भोट ल्याउने काम गर्नुभयो भने पार्टीले चुनाव जित्छ । नत्र पार्टी हारिहाल्छ नि । भोट जित्यो भने भोलि राष्ट्रपति, प्रधानमन्त्री, पार्टीकै सभापति महिला बन्नुहुन्छ ।’
कार्यक्रममा नेता प्रकाशमान सिंहले महिलाहरु नेतृत्वमा आउनुपर्ने बताएका थिए । उनले आगामी दिनमा महिलाहरुले नेतृत्व गर्नुपर्ने बताए ।
त्यस्तै केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले कांग्रेसले एक तिहाइ महिलालाई गाउँपालिका र नगरपालिका प्रमुखमा प्रत्यक्षतर्फ अघि बढाउनुपर्ने बताएकी थिइन् ।
संविधानले गरेको व्यवस्थाकै कारण संघीय संसदमा ३३ प्रतिशत, प्रदेशसभामा महिलाको प्रतिनिधित्व ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व पुग्नुलाई महिला मूल प्रवाहमा आएका मान्न नसकिने जिकिर गरिन् ।
‘त्यो पुग्नुले समग्र महिलाहरु नीति निर्माण र विकासको मूल प्रवाहमा आउन सक्दैनन् । त्यो पुग्ने प्रक्रिया पनि के भयो भने समानुपातिक प्रक्रियाबाट पुग्यौं । जनताबाट चुनिएर जान सकेनौं’,उनले भनिन् ।
यस्तै केन्द्रीय सदस्य सुजाता कोइरालाले महिलालाई उच्च स्थान दिएर पार्टी सभापति र प्रधानमन्त्री बनाउनुपर्ने बताइन् ।




प्रतिक्रिया