नयाँ सरकार गठनबारे कांग्रेसको चासो, देउवाले बोलाए तीन दलको बैठक


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे कांग्रेस, माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका हुन् ।उनले नयाँ सरकार गठनबारे माओवादी केन्द्र र जसपासँग आधिकारिक धारणा माग्ने कांग्रेस नेताहरुले बताएका छन् ।

गत हप्ता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । एक हप्तापछि सभापति देउवाले सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।

सरकार गठनका विषयमा माओवादी केन्द्र सहमत छ भने जसपाभित्र विवाद रहेको छ । जसपामा महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छ भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूह नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छ ।

ठाकुर पक्षले अ‍ोली सरकारसँग आफ्ना मागका विषयमा वार्ता प्रक्रिया अघि बढाएको छ । वार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए ।

उनकाअनुसार जसपाका सबै माग पूरा गर्ने सरकारको तयारी छ । पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्री अ‍ोलीसँग नजिकिएका छन् । उनले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग सहमति गरिसकेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement