काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य दलहरुसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।
बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको हो ।
बैठकमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह लगायतका नेताहरुले माओवादी र जसपाको समर्थन रहेको अवस्थामा अोली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए ।
उनीहरले सभापति देउवाले नयाँ सरकार गठन प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । जवाफमा सभापति देउवाले नयाँ सरकार गठनका लागि संख्या नपुग्ने र माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले समस्या देखा परेको बताएका थिए ।
‘सभापतिज्यूले संख्या नपुग्ने बताएपछि हामीले अन्य दलहरुसँग छलफल गरेर अविश्वासको प्रस्ताव ल्याउन सुझाव दियौं’, बैठकमा सहभागी एक नेताले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने विषयमा उहाँ (देउवा) कन्भिन्स हुनुभएको छ । चाँडै नै अन्य दलहरुसँग छलफल गरेर अविश्वासको प्रस्ताव आउँछ ।’
नेता सिटौलाले ओली नेतृत्वको सरकारको विकल्पका विषयमा सभापति देउवा सकारात्मक रहेको बताए ।
मओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैचोटी आउने बताएको छ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले वर्तमान ओली नेतृत्वको सरकारको विकल्प खोज्ने तयारी भइरहेको बताए । पार्टीले नयाँ सरकार गठन प्रक्रियाको थालनी हुनेबित्तिकै आफूहरु सरकारबाट बाहिरिने उनको भनाई छ ।
नयाँ सरकार गठनका विषयमा जसपाभित्र दुई धार देखा परेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव–डा. बाबुराम भट्टराईबीच सरकारका विषयमा विमती रहँदै आएको छ । महन्थ पक्षले वर्तमान अोली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउँदै आएको छ भने उपेन्द्र–बाबुराम पक्ष कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने अडानमा छ ।




प्रतिक्रिया