काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नजिकका व्यापारीलाई पोस्न जनताको ज्यान दाउमा लगाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको भ्रष्टाचार इतिहासले बिर्सिन्छ ? भन्दै प्रश्न गरेका छन् ।
‘व्यापारी घरानालाई पोस्न नेपाली जनताको ज्यान दाउमा राखेको इतिहासले बिर्सिन्छ ?,’ उनले भने । सभापति देउवाले आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? भन्दै प्रश्न गरेका छन् ।
‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, उनले भने ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए । ‘मानिस दुनियाँबाट भाग्न सक्छ , आफैंबाट भाग्छ सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैले आफैले सोध्नुस् । यो अवस्था तपाईको व्यक्तिगत दम्भ, राजनीतिक र प्रशासनिक कुशासनका कारण आएको होइन ?’ उनले प्रश्न गरेका छन् ।




प्रतिक्रिया