प्रधानमन्त्रीमा दाबी गर्दा निर्दलीय भन्नेलाई देउवाको जवाफः संविधान पढ्नु

प्रधानमन्त्रीमा दाबी गर्दा निर्दलीय भन्नेलाई देउवाको जवाफः संविधान पढ्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् ।

बिहीबार प्रेस युनियनको स्थापनाको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको भरमा संसद विघटन गरेर संविधानको ठाडो उल्लंघन गरेको बताएका हुन् ।

‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो । सांसद बोलाएको भए पनि हुन्थ्यो,’ उनले भने, ‘राति विघटन गर्नुभयो । राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ ।’

सभापति देउवाले आफू संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्दै राष्ट्रपति समक्ष गएको बताएका छन् । उनले संविधानअनुसार नै आफू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष गएको बताएका हुन् ।

‘हामी संविधानको धारा ७६ को ५ अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको हो,’ देउवाले भने, ‘यो निर्दलीय अभ्यास होइन । संविधानकै धाराअनुसार हो । निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने छ ।’