देउवालाई पार्टीभित्र दबाब : प्रधानमन्त्री होइन, महाधिवेशनको तयारीमा लाग्नूस्

देउवालाई पार्टीभित्र दबाब : प्रधानमन्त्री होइन, महाधिवेशनको तयारीमा लाग्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड सत्ता समीकरणको खेलमा लागेका छन् । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकार परिवर्तनको खेलमा प्रचण्ड–नेपाल सक्रिय भएका हुन् ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड–नेपाल बुढानिलकण्ठ पुगेका थिए । उनीहरुले देउवालाई प्रधानमन्त्री बन्न अफर गरेर फर्किएको चर्चा चल्न थालेको छ । देउवाले आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका थिए ।

देउवाको मनस्थिति परिवर्तन हुने हो कि भनेर अहिले कांग्रेसका नेताहरु सचेत हुन थालेका छन् । उनीहरुले सभापति देउवालाई जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा बस्न पठाएको भन्दै प्रधानमन्त्रीको ‘लोभ’ मा नफस्न आग्रह गरेका छन् । नेता चन्द्र भण्डारीले यो समय कांग्रेस महाधिवेशनको तयारीमा जुट्ने बेला भएको बताउँदै सत्ता समीकरणको खेलमा नलाग्ने देउवालाई चेतावनी दिएका छन् ।

‘जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएका हुन् तथापी निकासबाट पन्छिनु भने हुदैन । यो समय काग्रेस पार्टीको महाधिवेशनमा लाग्ने वेला हो । विचारको आधारमा संगठित भएकाहरु एक ठाउमा उभिनु आवश्यक छ । वर्तमान चुनौतिहरुको सामना गर्न देशको नेतृत्वको लागि कम्मर कसेका नेताहरु साना गुट र उपगुट भन्दा माथी उठ्नु पर्दछ त्यसपछि मात्र देशको नेतृत्व चुस्त हुन सक्दछ । हामी एकमा ठाँउ छौ एक ठाउमा उभिन्छौं भन्ने कुराको विश्वास पार्टीका साथीहरु र जनतालाई दिन सक्नु पर्दछ । सबैको एउटै लक्ष्य समान अवसर र न्याय !!! नेपालमै अवसरको संकल्प । देश र जनता भन्दा ठुलो कोही हुदैन भन्ने भावना । आफ्नो गौरवपूर्ण इतिहासको सम्मान गर्दै नेपाली कांग्रेसले नविन विचार सहित देशको नेतृत्व गर्नु पर्दछ’, उनले भने ।

त्यस्तै नेता गगनकुमार थापाले पार्टीले पहिले पनि पटक–पटक गल्ती गरिसकेकाले फेरी पनि सरकारमा गएर गल्ती गर्न नहुने बताए । उनले जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको बताए ।

‘हामीले दुइटा कुरालाई आधार बनाएर निर्णय गर्नुपर्छ । एउटा, हामीले केही गल्ती–कमजोरी गरिसकेका छौं, केही कुरामा चुकेका छौं । त्यो भारी अब हामीसँग छ । त्यो भारी बिसाउनुपर्छ । पार्टीले संविधानको पालना, विधिको शासन गर्ने कुरामा नचुकीकन काम गर्नुपर्छ । दोस्रो, कांग्रेसले यो संसद्मा प्रतिपक्षमा बस्न ‘म्यान्डेट’ पाएको हो । त्यसकारण हामीले प्रतिपक्षीको भूमिका नै निर्वाह गर्ने हो’, उनले भने ।

त्यस्तै अर्का नेपाल धनराज गुरुङले प्रधानमन्त्रीका लागि कांग्रेसले लुछाचुँडी गरे महाभूल हुने चेतावनी दिए ।

‘प्रधानन्यायाधीशलगायत न्यायाधीशहरुले स्वतन्त्र अदालतको साखलाई अझ उचाइमा पुर्‍यायो । अब संसदको साख बढाउने जिम्मेवारी राजनैतिक नेतृत्वको हो । प्रधानमन्त्री पदका लागि राजनैतिक नेतृत्वले लुछाचुँडी गर्‍यो भने महाभूल हुनेछ । यही बेला राजनैतिक नेतृत्वले भनोस् – अब नेतृत्व हामीबाट हैन नयाँ पुस्ताबाट’, उनले भने ।

सभापति देउवाको पछिल्ले कदमबाट कांग्रेस नेताहरु असन्तुष्ट बन्द गएका छन् । उनीमाथि कोरोना भाइरसको महामारी देखाउँदै महाधिवेशन नगर्ने खेल खेलेको आरोप लाग्दै आइरहेको छ ।

‘पार्टी सभापतिले काम गर्न सक्नुभएन । महाधिवेशन सदस्यको टुंगो लगाउने र ७७ जिल्लाको क्रियाशील सदस्यता कटकमा राखेर विधि र नियम पूरा गरेकाहरुलाई सदस्यता वितरण गरिहालौं भन्ने हाम्रो काम हो । विवादित क्रियाशील सदस्यता छानबिन गर्नुपर्ने थियो त्यसलाई निरन्तरता दिइराखौं’, नेता प्रकाशमान सिंह भन्छन्,, ‘कांग्रेसको महाधिवेशनलाई क्रियाशील सदस्यता त निर्वाचन आयोगलाई भोटरलिष्ट चाहिए जस्तै हो । यो लिष्टलाई फाइनल गरौं भन्ने कुरामा जोड दिएको हो । सभापतिले आलटाल–आलटाल गरिराख्नु भएको छ । पार्टी सभापतिको नियत के देखियो भने सकेसम्म महाधिवेशन धकेल्दै जाने ।’

कांग्रेसले फागुन ७ देखि १० गते महाधिवेशन गर्न नसकेपछि ६ महिनाका लागि महाधिवेशन सारेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउन बैठकले निर्देशन दिएको छ ।